
पूर्णपुष्टि,चैत्र ४ । राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घ तथा प्रदेशका सांसदहरुबीच शीतल निवासमा भेटघाट हुने भएको छ। राष्ट्रपति पौडेलले शनिवार बिहान ९ बजे प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सदस्यहरूलाई शीतलनिवास डाकेको हो ।
राष्ट्रपति निर्वाचित भएको खुसीयालीमा चियापान तथा धन्यवाद ज्ञापनका लागि पौडेलले सांसदहरूलाई निम्ता गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न यतिबेला सबै प्रदेशका सांसदहरू काठमाडौंमै छन् । यही मौका पारेर पौडेलले शीतल निवासमा चियापान कार्यक्रम राखेका हुन् ।
यता एमालेका सुवास नेम्वाङलाई हराउँदै राष्ट्रपति बनेका पौडेलले गत सोमबार शपथ लिएका थिए । राष्ट्रपति चुनावमा ३ सय ३१ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी कुल ८ सय ३१ जना सहभागी भएका थिए । यसमा पौडेलले ३३ हजार ८ सय २ मत पाए भने नेम्वाङले १५ हजार ५ सय १८ मत हासिल गरेका थिए ।
