Wednesday, June 17News That Matters

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

पूर्णपुष्टि, चैत ३ । नेकपा माओवादी तथा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बधाई दिदैँ जनहि तिन लाख दिने घोषणा गरेका छन् ।

आज शुक्रबार बिहान बालुवाटारमा भएको कार्यक्रममा नेपाली क्रिकेट टोलीलाई बधाई दिदैँ जनही तिन लाख दिने दाहालले घोषणा गरेका हुन् । बिहिबार घरेलु मैदानमा भएको खेलमा नेपालले युएईलाई ९ रनले पछि पार्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो । खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन् ।

दाहालले आफु अत्यन्त खुसी भएको र हिजो गर्नु भएको प्रदर्शनले तपाईहरुको मात्र जित नभई देशले जितेको बताए । उनले भने ‘देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

नेपालले एक महिनाको अन्तरमा अदित्तीय प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो । जसमा घरेलु मैदानमा भएको पछिल्लो दुई शृंखलाको चारै खेल जित्दै क्लिन स्वीप गरेको थियो भने यूएईमा भएको शृंखलाका चारमध्ये तीन खेल जितेको थियो ।

नेपालले अब जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । १० टिमले खेल्ने क्वालिफायरबाट शीर्ष दुई टोलीले भारतमा अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला जिते लगत्तै गत महिना खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर सम्मान गर्दै जनही २ लाख दिने घोषणा गरेका थिए । जसअनुसार राष्ट्रिय टिमका खेलाडीले अब जनही ५ लाख पाउने भएको छ ।