Wednesday, April 22News That Matters

राष्ट्रिय स्वतन्त्र पार्टीमा भूकम्प: डा. मुकुल ढकाल पदमुक्त

पूर्णपुष्टि, असार २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ठूलो उथलपुथल मच्चिएको छ। पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई सबै पदबाट हटाइएको छ। मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट बर्खास्त गर्दै साधारण सदस्यमा सीमित गर्ने निर्णय गरेको हो।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार ढकालमाथि पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक र अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। यसअघि असार १९ मा उनलाई एक साताका लागि निलम्बन गरिएको थियो। यो कारबाहीको पृष्ठभूमिमा ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्रा प्रतिवेदन रहेको देखिन्छ। उक्त प्रतिवेदनमा पार्टी र सभापतिको कार्यशैलीप्रति कडा आलोचना गरिएको थियो। ३८ जिल्लाको भ्रमणपछि तयार पारिएको यो प्रतिवेदनमा सभापति लामिछानेको व्यवहार, पार्टी सञ्चालन र विभिन्न मुद्दाहरूमाथि प्रश्न उठाइएको थियो।

आफूमाथिको कारबाहीपछि ढकालले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू ‘रवि लामिछानेको क्लबबाट निष्कासित भएको’ बताएका छन्। उनले थप भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन।” यो घटनाले रास्वपाभित्रको आन्तरिक कलह सतहमा आएको देखाउँछ। ढकालको बर्खास्तीले पार्टीको आन्तरिक लोकतन्त्र र विचार स्वतन्त्रताको प्रश्न उठाएको छ। यसले पार्टीको भविष्यमा कस्तो प्रभाव पार्ने हो भन्ने चासो पनि बढेको छ।