Thursday, May 21News That Matters

राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिकामा २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझायो

पूर्णपुष्टि, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्वपा) उदयपुरले त्रियुगा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेटलाई लक्षित गर्दै २५ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार त्रियुगा नगरपालिकामा राष्वपाका नेता कार्यकर्ताहरूले प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालालाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

राष्वपाले आफ्नो सुझावपत्रमा अघिल्लो आर्थिक वर्षहरूको बेरुजु रकम तत्काल असुली गरी समग्र नगरको हितमा प्रयोग गर्न आग्रह गरेको छ । पार्टीले नगरपालिकाको अनावश्यक खर्च न्यूनीकरण गरी विकास खर्च बढाउनुपर्ने र वित्तीय अनुशासन कायम राख्नुपर्ने बताएको छ ।

बजेट कार्यक्रममुखी नभएर उत्पादन, रोजगारीमूलक र विकासमुखी बनाउन सुझाव दिएको छ । यसले स्थानीय जनताको जीवनस्तर सुधार गर्न र दिगो विकासमा योगदान पुर्‍याउने बताइएको छ । नगरको फोहोर व्यवस्थापनका लागि फोहोरलाई मल र उर्जामा रूपान्तरण गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको छ । यसले वातावरण संरक्षण र आर्थिक फाइदा दुवै ल्याउने बताइएको छ । नगरपालिकामा भइरहेको अनावश्यक इन्धनको दोहन तत्काल बन्द गर्न राष्वपाले माग गरेको छ । जन्म, मृत्यु र बसाइँसराइ सिफारिसको प्रतिलिपि लिँदा लिइने ५०० रुपैयाँ शुल्क खारेज गरी निःशुल्क सेवा प्रदान गर्न सुझाव दिएको छ ।

नगर अध्यक्ष उत्तम रिजाल लगायतका राष्वपाका नेता कार्यकर्ताहरूको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो । पार्टीका स्थानीय नेताहरूले यी सुझावहरूलाई आगामी बजेटमा समेट्न आग्रह गरेका छन् । राष्वपाले यी सुझावहरूलाई गम्भीरतापूर्वक लिएर आगामी नीति निर्माणमा समावेश गर्न नगरपालिकासँग आग्रह गरेको छ ।