Friday, June 19News That Matters

लकडाउन केही खुकुलो, गाउँघरमा कृषि कार्य सूचारु गर्न सरकारको आग्रह

पूर्णपुष्टि, चैत २० ।

सरकारले आजबाट लकडाउनलाई केही खुकुलो पार्दै ग्रामीण क्षेत्रमा बालीनाली लगाउने र उठाउने कृषि कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।

आज बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैंठकले खाद्य सामग्री, इन्धन लगायत दैनिक उपभोग्य बस्तुको ढुवानीलाई सहज बनाउने निर्णयका साथै ग्रामिण भेगमा कृषि कर्मका लागि सहज बनाउने निर्णय गरेको हो ।

खेतीका लागि बाहिरबाट श्रमिक ल्याउन भने नपाउने भएको छ । स्थानीय रुपमा नै कार्य गर्न र स्थानीय कामदार मात्र लगाउन सरकारको आग्रह छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको समन्वय समितिको बैंठकले नियमित आपूर्ती भइरहेका दैनिक उपभोग्य बस्तु तथा मुलुकभित्रै हुनसक्ने उत्पादनका विषयमा छलफल गरेको र अव केही सहज बनाउने निर्णय भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

उहाँले स्वस्थ्यका मापदण्ड पुरा गरेर आवासीय रुपमा अत्यावश्यक उद्योग तथा ठूला आयोजना सञ्चालन गर्न दिइने निर्णय भएको जानकारी दिनुभएको छ ।

सरकारले लकडाउनलाई खुकुलो पारे पनि विना काम बाहिर निस्कने, भिडभाड हुने कार्य गर्ने कुरालाई निषेध नै गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।