
पूर्णपुष्टि, असार २५
लागूऔषध कारोबारमा संलग्न एक महिलासहित चाँरजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुरस्थित पवन महतोको घरमा इलाका प्रहरी कार्यालय लहान र धनगढीको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लागूऔषध बरामद भएको छ । ६ किलो ५ सय ग्राम गाँजा र स्पामो नामक ६ सय थान ट्याब्लेट बरामद भएपछि महतोको श्रीमती निला महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोकबाट स्थानीय कुमार लामालाई २ सय मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
गोलबजार नगरपालिका–६ बाटै लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० बस्ने २५ वर्षीय प्रविण शार्मालाई नाइट्रोभेट ट्याब्लेट १ सय थानसहित पक्राउ गरिएको छ ।
यस्तै, भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक जनालाई बिभिन्न लागूऔषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सखुवान्नकारकट्टी गाउँपालिका–४ खयरबोना टोल बस्ने सुनिल गिरी छन् । शंका लागि चेकजाँच गर्दा उनको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाईजि ल्याब १४ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
चारै जनालाई नियन्त्रणमा लिई थप अनुसनधान आगाडी बढाएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
