Sunday, August 30News That Matters

विपद्पछि अभिभावकविहीन बालबालिका र बेसहारा ज्येष्ठ नागरिकको संरक्षण गर्न मानव कल्याण समाज तयार

पूर्णपुष्टि सम्वाददाता
भदौ १३ । काठमाडौ
विपद्का कारण अभिभावक गुमाएका तथा पालनपोषण गर्ने कोही नभएका बालबालिका र आफ्ना सन्तान गुमाएर बेसहारा बनेका ज्येष्ठ नागरिकको संरक्षणका लागि मानव कल्याण समाजले पहल अघि बढाएको छ ।
मानव कल्याण समाज पनौतीले गत १० गतेको विनाशकारी वाढिमा आमावुवा तथा परिवार गुमाएका बनेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको जनाएको छ। त्यस्तै, विपद्का कारण आफ्ना सन्तान गुमाएर बेवारिसे अवस्थामा पुगेका ज्येष्ठ नागरिकलाई मानव कल्याण समाज झौखेलमार्फत संरक्षकत्व प्रदान गर्ने तयारी गरिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष देवी सुमी मानव र संस्थामा अभिभावकत्वको जिम्मेवारी सम्हालिरहेका अभिभावकहरूबीच भएको छलफल तथा निर्णयअनुसार उक्त पहल अघि बढाइएको संस्थाका भक्तपुर जिल्ला अभिभावक संयोजक गोपीकृष्ण न्यौपानेले बताउनु भयो ।
मानव कल्याण समाजले यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन भक्तपुर जिल्लाका स्थानीय तह, विपद्बाट प्रभावित क्षेत्रका स्थानीय तह तथा बागमती प्रदेश सरकारसँग समन्वयका लागि आग्रह गरेको छ। साथै, प्रदेश तथा संघीय सरकार लगायत सम्बन्धित सबै निकाय तथा व्यक्तिहरूलाई आवश्यक सहजीकरण र समन्वय गरिदिन संस्थाले अनुरोध गरेको छ ।
विपद्का कारण परिवारको सहारा गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित वातावरण, संरक्षण र आवश्यक हेरचाह उपलब्ध गराउनु सामाजिक दायित्व भएको भन्दै संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्न प्रतिबद्धता जनाएको हो ।
संस्थाले अध्यक्षको सम्पर्क नम्बर ९८४५६३७०३७ सार्वजनिक गरेको छ ।