
पूर्णपुष्टि, जेष्ठ ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेको छ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै दैनिक ५० लाखसम्म असुली हुने गरेको पाइएपछि यो कारबाही गरिएको हो । छापामा कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूका कम्प्युटर, मोबाइललगायत डिभाइसहरू जफत गरिएको छ ।
स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा खाडी देश जानेसँग ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको छ । यसरी दैनिक औसतमा सयजनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिने गरेको छ । जसअनुसार दिनमै ५० लाखसम्म असुली हुने गरेको र त्यो पैसा विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयको नेतृत्वकर्ता मन्त्री रमेश लेखकसम्म पुग्ने गरेको स्रोत बताउँछ ।
अख्तियारले संगठित रूपमै असुली बढेको सूचनाका आधारमा अन्डर कभर अपरेसन चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो । सोही आधारमा बुधबार छापा हानेर अध्यागमन प्रमुख भट्टराईलगायतलाई नियन्त्रणमा लिइएको हो । भट्टराईले चलाउने कम्प्युटर, कर्मचारी र तीन एजेन्टका मोबाइलसमेत जफत गरी अनुसन्धान थालिएको छ । नियन्त्रणमा लिइएका चारैजनालाई सोधपुछ गरेर हाजिर जमानीमा कागज गराएर बुधबारै छाडिएको छ ।
गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई अध्यागमनमा पठाएका थिए । अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि मंगलबार साँझ मात्रै गृहमन्त्री लेखककै निर्देशनमा हतारहतार भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याएको थियो । उनको ठाउँमा अर्का सहसचिव विष्णुप्रसाद कोइरालालाई पठाएको थियो । सरुवा भए पनि भट्टराईले रमाना लिइसकेका थिएनन् । अख्तियार टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
भट्टराई गत २३ असोजमा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । उनीअघि विमानस्थल अध्यागमनको नेतृत्वमा सहसचिव सुरेश पन्थी थिए । उनीमार्फत सेटिङ नचल्ने भएपछि गृहमन्त्री लेखकले चार महिना नपुग्दै हटाएर भट्टराईलाई विमानस्थल अध्यागमनमा पठाएका थिए ।
तीर्थराज भट्टराई विवादास्पद पृष्ठभूमिका कर्मचारी हुन् । १० वर्षअघि काठमाडौंको स्थानीय विकास अधिकारी छँदा त्रिपाल खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। पछि सफाइ पाएका उनी सेवामा जोडिएपछि पनि शक्तिकेन्द्रसँग निकट भई आकर्षक पोस्टिङमा खटिँदै आएका थिए ।
स्रोतका अनुसार भट्टराईले अध्यागमनमा कोर टिम बनाएर मानव तस्करीको सञ्जाल चलाएका थिए । उनको कोर टिममा अधिकृतहरू यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्यायलगायत रहेको स्रोतको भनाइ छ । भिजिट भिसाको सेटिङमा ट्राभल एजेन्सीहरूसमेत जोडिएका छन् । एजेन्ट र कर्मचारीबिच हुने गरेका भेटघाटमाथि निरन्तर निगरानी गरेर बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भिजिट भिसाको सेटिङमा मनग्य आम्दानी हुने भएपछि विमानस्थल अध्यागमनमा जान खासगरी अधिकृत कर्मचारीको तँछाडमछाड हुने गरेको छ । एक अधिकृतका अनुसार त्यहाँ सरुवा भएर जान पाँचसात लाखसम्म बुझाउनुपर्छ । कतिपय अधिकृतले वर्षमै करोडसम्म कमाउने गरेका छन् । यही आम्दानीका कारण कतिपय अधिकृतहरू चौथोपटकसम्म सरुवा मिलाएर गएका हुन् । सोही कारण अध्यागमनमा दरबन्दीभन्दा धेरै कर्मचारी छन् । अधिकृतको दरबन्दी १२१ रहेकामा १४० कार्यरत छन् । त्यस्तै, नासुको नौ दरबन्दीमा ३० जना कार्यरत छन् ।
धेरैजसो नासु कार्यालयमा भन्दा ट्राभल एजेन्सीका सञ्चालकसँग रेस्टुरेन्टमा बस्ने गरेको स्रोत बताउँछ । सेटिङ मिलाउन कर्मचारीहरूले गोप्य मोबाइलसमेत बोक्दै आएका थिए । तिनै मोबाइलमा एजेन्टहरूले सेटिङमा पठाउनुपर्ने व्यक्तिको सूची पठाउँथे ।
अध्यागमन पुगेका सबैजसो कर्मचारीहरू गृहमन्त्री लेखकको सचिवालयमार्फत गएको स्रोत बताउँछ । मन्त्रीको सचिवालयबाट ओके नभई अध्यागमनमा कोही जान सक्दैन भनी मन्त्रालयका एक अधिकारी बताउँछन् । यसमा प्रिपेडदेखि मासिक लेनदेन हुने गरेको छ । अध्यागमनको कर्मचारी सरुवामा गृहसचिव गोकर्णमणि दुवाडी, मन्त्रालयको कर्मचारी प्रशासनका अधिकृत गणेशदत्त ओझाको पनि विशेष चासो हुने गरेको छ । त्यस्तै, कांग्रेस र एमालेनिकट ट्रेड युनियनका नेताहरू पनि पहुँचका आधारमा अध्यागमनमा खटिएका छन् ।
अध्यागमनमा भिजिट भिसामा हुने सेटिङ नयाँ होइन। गत वर्ष पनि प्रहरीले अध्यागमनका आठ अधिकृतविरुद्ध मुद्दा चलाएको थियो । अख्तियारले पनि विगतमा बारम्बार मुद्दा चलाएको छ । तर, अहिलेजस्तो सेटिङ कहिल्यै नभएको कर्मचारीहरू बताउँछन् । यसरी सेटिङमा विदेश गएका धेरै महिलाहरू पछिल्लो समय कुवेत, ओमान र इराकसम्म लगेर बिक्री भएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले विस्तृत अनुसन्धान भइरहेको बताए । कर्मचारी र एजेन्टको बरामद मोबाइलबाट तस्करीको नेटवर्क खुल्ने हाम्रो आशा छ भनी अख्तियारका एक अधिकारीले बताए । स्रोतका अनुसार डिभाइसहरू नियन्त्रणमा लिइएका छन् र यसबाट धेरै कुरा खुल्दै जाने बताइएको छ । अध्यागमनको यस्तो सेटिङको सञ्जाल गृह मन्त्रालयसम्म देखिएको स्रोत बताउँछ ।
