Saturday, June 27News That Matters

शव व्यवस्थापनमा खटेका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १३

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यावस्थापनमा खटेका दुई जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो प्रदेश प्रयोगशाला भैरहवामा संक्रमण पुष्टि भएका ७७ जना मध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एक जना पुरुषको गत जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा मृत्यु भएको थियो ।

मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।

सडकदेखि शव व्यवस्थापन स्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ ।

शव व्यवस्थापनदेखि नै व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणले जनाएको छ ।