Sunday, May 3News That Matters

श्रीमतीको हत्या गरी आत्मसमर्पण

पूर्णपुष्टि, बैशाख २० । काठमाण्डौँमा एक पूरुषले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर–३ का ३५ वर्षीय सन्तोष परियारले श्रीमती ३५ बर्षीय अनिसा चाहारको हत्या गरी काठमाण्डौँ प्रहरी वृत्तमा आत्मसमर्पण गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरमा बस्दै आएका परियारले श्रीमतीको हत्या गरी बुधबार बिहान ८ बजेर ४० मिनेटमा आत्मसमर्पण गरेको डीएसपी राजु पाण्डेले बताएका छन् । पाण्डेका अनुसार परियारले वृत्तको गेटमा आएर आफुले श्रीमतीको हत्या गरेको बयान दिएपछि तत्काल टिम सहित खटिगई लामाको घरको भुईँ तलामा ढोका खोलेर हेर्दा अनिसा मृत अवस्थामा थिइन् ।

चाहार ओछ्यानमा मृत अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोषले अनिसाको गतिविधि निगरानी गरे । पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको उनले प्रहरीसँग साविति बयान दिएका छन् ।

अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेका हुन् । दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए । हत्या गरेपछि फरार भएपनि प्रहरीले पक्राउ गर्ने आकलन गरेर आफूले समर्पण गरेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । मृतकको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको छ । घटना सम्बन्धमा प्रहरी वृत्त बौद्धले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।