
पूर्णपुष्टि, साउन २९ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रिपरिषद्को मर्यादाक्रममा भएको हेरफेर र विभिन्न संसदीय समितिका वार्षिक प्रतिवेदनहरू पेश हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन्।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०” पेश गर्नेछन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१” प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने सम्भावना रहेको छ।
