
उदयपुर, माघ २७ गते ।
सडकको अभावले पहाडी भेगका बाँस दाउँरामा परिणत भएको छ । रौतामाई गाउँपालिका–५ को विभिन्न गाउँ बस्तिका करोडौँको बाँसले बजार नपाउँदा दाउरामा परिणत भएको हो ।
भान्सादेखि आवाससम्म प्रयोग हुने बाँस सडकको अभावमा खेर गईरहेको छ । रौतामाईको धोद्रे, खाँनिडाँडा, ढाँड, गुरासे लगायतका गाउँ बस्तिमा करोडौँको आगो बाल्न दाउँरा भएको छ ।
गाउँमा उत्पादन भएको बाँस सहरसम्म पु¥याउन सके निकै महंगोमा विक्रि वितरण हुन्छ । सडकको पहुच नपुग्दा गोठ बनाउन, मतान छाउन, बार बार्न र दाउरा पोल्न मात्रै काम लागेको स्थानीय कमलबहादुर राईले बताए । सडक ट्रयाकले भर्खर गाउँ छुएको छ । सडकको स्तर उन्नती नहुदा ठूला र लामा सवारी साधान आउन नसक्ने भएकाले बाँस दाउँरा भएको उनले बताए ।
बाँसबाट धेरै कुरा बनाउन सकिने भएपनि त्यसको ज्ञान छैन । हस्तकला निर्माण नर्गको लागि पनि ज्ञान नहुदा दाउरा पोल्न मात्रै प्रयोग हुदै आएको स्थानीय राईले बताए । राईले भने ‘मेरो मात्रै बाँस डेढ दुई लाख घना छ ।, गाउँमा २/४ सय घना बाँस नहुने कोही छैन ।, तर बाँसबाट कुनै आम्दानी लिन सकिराखेको छैन ।, त्यसको मुख्य कारण भनेको सडकको पहुँच नै हो, सडक विस्तार र त्यसको स्तर उन्नती हुन सके एउटा राम्रो आम्दानीको श्रोत बन्छ ।’
गाउँमा सवैको बाँस भएकाले त्यसलाई विक्रि वितरण गर्न सके सुन्तलाबाट जस्तै आम्दानी लिन सकिन्छ । पछिल्लो समयमा आएर सिन्कौली र सुन्तलाले गाउँलेको आर्थीक स्तर उकासेको स्थानीय राईले बताए ।

विक्रि गर्दा चाहिने बाँसको गोलाई, मोटाई र लम्बाई छ । सडकको अभावले गर्दा दाउँरा पोल्न, बार बार्न र करेला, बोडीको लागि थाक्रा लगाउन मात्रै प्रयोग गर्दै आएको स्थानीय अमृत राईले बताए । बाँसले खोल्सादेखि डाँडा छुएको छ । तर आम्दानी लिन भने नसकिएको उनले बताए ।
विकासे सामाग्रीको प्रभावले गर्दा गाउँ घरमा जस्ताको सेतो र हरियो छाना लगाउने प्रतिस्प्रदाले गर्दा घरमा पनि बाँस प्रयोग हुन छाडेको छ । विद्युतीय सामाग्रीले गर्दा पहिलेको जस्तो यता उता हिडडुल गर्दा पनि बाँसको राँको बाल्ने चलन हराएकाले गाउँको बाँस बोटमै कुहिदै गएको राईले बताए । विद्युत र विद्युतीय सामाग्री लाईट बत्तिले गर्दा घरमा पनि कमै बाँसको दाउरा प्रयोग हुने गरेको उनले बताए ।
पहिलाको तुलनामा गाई वस्तु कम पाल्न थालेकाले गाई गोठ समेत कम बन्न थालेको छ । सवै कुरामा कमी आउन थालेपछि बाँसको प्रयोगमा कमी आएको राईले बताए । गाउँ घरमा घर बाँस र बन बाँस भनेर प्रजाती अनुसार तामा पनि बन बाँसको मात्रै खाने भएकाले घर बाँसको तामामा पनि कमी नआउने गरेको उनले बताए ।
बाँदरले खाएको भन्दा बाँकी सवै तामाहरु बाँस बन्ने भएकाले बाँसको झाडी बनेर बसेको छ । बाँसलाई रोपेपछि गोड मेल गर्नु नपर्ने भएकाले सडकको पहुँच पुगेको भए वयस्क बाँस झिक्ने मात्रै गर्दा हुने राईले बताए । सडक पहुँच पुगेको ठाउँहरुमा प्रति घना एक सय ५ रुपैयाँ देखि २० रुपैयाँसम्मले विक्रि भएको उनले बताए ।
राईले भने ‘सडक पहुँच पुगेको गाउँ बस्तिमा बाँसबाट नै राम्रो आम्दानी गर्दै आएको छ । तर हाम्रोमा सडकको अभावले गर्दा करोडौँको बाँस बोटमै कुहिएर गाईरहेको छ ।, माग्नेलाई दिउँ भने पनि गाउँघरमा बाँस नहुने कोही छैन ।, दाउँरा बालेर नसकेर बाँसको झाडी भएर बसेको छ ।, सडकको पहुच पुगे राम्रो आम्दनीको श्रोत बन्ने छ ।’
गाउँघरमा उत्पादन भएको सुन्तला, सिन्कौलीको उचित मुल्य दिलाउन र बाँस, अम्लीसोको बजारीकरण गर्नका लागि स्थानीय सरकारले ‘सडक मर्मत’ शिर्षकमा छुट्याएका बजेटले सडकको स्तर उन्नती गर्ने सोच विचार बनाएको स्थानीय सिताराम राईले बताए ।
सडकको ट्रयाक मात्रै पुगेकाले मोडहरु र पहिरो गाएको ठाउँहरुमा सडक मर्मत गर्नु पर्ने छ । ट्रयाक खोल्दा मोडहरु सानो हुने भएकाले त्यो मोड बढाउने र सडक मर्मत गरी केहि ठूला तथा लामा सवारी साधन आउन जान सक्ने वातावरण सिर्जना गर्न सके पनि गाउँलेहरुले राहत महशुस गर्ने राईले बताए । सडकै कारण देखाएर अहिले सिन्कौलीको भाउ समेत घटेको उनले बताए ।
बाँसको तामाका अचारदेखि विभिन्न परिकार बन्ने भएकाले भान्सादेखि सवै कुरामा प्रयोग हुदै आएको छ । मानिस बस्ने घर, गाई वस्तुको गोठ, बस्नको लागि कुर्सी, खाट, ¥याक, केहि सामान बोक्नको लागि डोको, सोली, खाद्य वस्तुका लागि नाङ्लो, डालो, छपनी, विभिन्न हस्तकलाका सामाग्री लगायतका धेरै कुरा बाँसबाट बन्ने गरेको छ ।
