
पूर्णपुष्टि, असार ९ ।
अनुगमन टोलीले आज गाईघाटको दुई किराना तथा खाद्यन्न पसललाई ठूलो रकम जरिवाना तिराएकोे छ भने १३ हजार बढिको म्याद गुज्रेको सामान बरामद गरी नष्ट गरेको छ ।
गाईघाटका प्रशान्त किराना पसललाई २० हजार र पाण्डे किराना पसललाई १० हजार रुपैया जरिवाना तिराएको हो । यसरी ब्यापारीलाई ठूलो रकम जरिवाना तिराएको सम्भवत पहिलो हो । विगतमा धेरैजसो चेतावनी दिएर छाडिदिने र जरिवाना गराए पनि सामान्य मात्र गराउदा ब्यापारीहरुले खेलाची ठानेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलको नेतृत्वमा वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर र सरोकारवाला निकायहरु सम्मिलत अनुगमन टाअसोलीले ती पसलहरुलाई कसुरको आधारमा जरिवाना तिराएको हो । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका कार्यालय प्रमुख सन्तोष पोखरेलका अनुसार अनुगमनको क्रममा प्रशान्त किराना पसल र पाण्डे किराना पसलले उपभोक्ता संरक्षण ऐन विपरित काम गरेको पाइएकाले जरिवानामा परेका हुन् ।
ती पसलहरुले अनुगमन टोलीलाई खाद्यन्न सामग्रीहरुको बील, विजक देखाउन सकेन । बील, विजक फेला नपरेपछि कारवाहीमा परेका हुन् ।
अन्य तीनवटा पसलहरुमा समेत अनुगमन गरिदा ती पसलहरुबाट १३ हजार तीनसय रुपैया बराबरको म्याद गुज्रेको सामानहरु फेला पारी नष्ट गरेको हो । रेडिमेड रसवरी, विस्कुट, कुर्मुरे, लेइज, भुजिया आदि सामानहरु म्यान गुज्रेको अवस्थामा पनि विक्रीमा राखेको पाइएपछि बरामद गरी नष्ट गरिएको उपभोक्ता संरक्षण अधिकृत पोरखेलले बताउनुभयो ।
कोरोना महामारीको बेला ब्यापारीहरुले कालाबजारी तथा कृतिम अभाव गर्ने र उपभोक्ताहरुलाई मार्का पर्ने कुरालाई मध्येनजर गर्दै अनुगमन गरिएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो । अनुगमनको क्रममा बिल, विजक नभएका दुई पसलहरुले कालाबजारी तथा कृतिम अभाव गरेको आशंका भएको छ । त्यस्ता कुरामा प्रशासनले कडा निगरानी राख्ने पनि उहाँले जानकारी दिनुभयो । बेलाबेलामा बजार अनुगमन गरिने र कसुर भेटिएमा कडा कारवाही गरिने उहाँले बताउनुभयो ।
अनुगमनमा सुरक्षा प्रमुखहरु, घरेलु विकास कार्यालय प्रमुख, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो ।
