Saturday, April 18News That Matters

सानै उमेरमा आमा बन्नेको संख्या बढ्दै

भदौ १५ गते ।

विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकेपनि त्यो भन्दा सानै उमेरमा विवाह गर्ने गरेको पाईएको छ । बाल विवाह रोक्नका लागि सरकारले नै विभिन्न कर्याक्रमको आयोजना गरेपनि सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या नघटेको अस्पतालको तथ्याङ्कले देखाएको हो ।

पनौती नगरपालिका–१० खोपासीको प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्क अनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेको देखिएको छ ।

स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी सानै उमेरमा आमा बन्ने गरेकाले सङ्ख्यामा बृद्धि भएको अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भन्नुभयो ।

राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्कमा २२ हजार १ सय ४७ जनाले प्रसूति सेवा लिएका मध्ये २ हजार ६ सय ८५ जना २० वर्षभन्दा कम उमेरको रहेको तथ्याङ्कले देखाएको छ । त्यति मात्र होइन, सात जना त १२ देखि १४ वर्ष उमेर समूहका थिए ।

गत आर्थिक वर्षमा प्रसूति सेवा लिएका ५ हजार ९१ जनामध्ये १ सय ७० जना २० वर्षभन्दा कम उमेरको रहेको महाराजगञ्जको शिक्षण अस्पतालको तथ्याङ्कले देखाएको छ ।

गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी (संहिता) ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको २० वर्ष तोकिएको छ ।

सानै उमेरमा विवाह गर्दा उजुरी परे गल्तीको प्रकृति हेरी (जबर्जस्ती वा ललाइफकाई) विवाह गराउने घरपरिवार वा नातेदारलाई समेत कारबाही हुने छ । २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता पाउने छैन ।

सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।