
पूर्णपुष्टि, असार ६ । भारतमा आजदेखी सुरु भएको दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको उद्घाटन खेलमा आमन्त्रीत टोली कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो ।
कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए । खेलको २३ मिनेटमा कप्तान हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४१औं मिनेटमा अलखल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे भने ६५ मिनेटमा अलखल्दीले कुवेतका लागी तेस्रो गोल गरे । नेपालका लागी ६७ औं मिनेटमा अन्जन विष्टले सानत्वान गोल फर्काए ।
योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्याएका छन् । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए । समुह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार घरेलु टोली भारतसँग खेल्नेछ ।
