
पूर्णपुष्टि,चैत्र १५ । बंग्लादेशमा सम्पन्न साफ यु –१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रुसले जितेको छ । पाचँ राष्ट्र सम्मिलित च्याम्पियनसिपमा चार खेल जित्दै रुसले १२ अंक जोडेर उपाधि हात पारेको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा रुसले भारतलाई २–० गोलले हराउँदै उपाधि उचालेको हो । भारतविरुद्ध रुसलाई जित दिलाउन एभडिनको र कोट्लोभाले गोल गरे ।
रुसले च्याम्पियनसिपको ४ खेलमा कुल १७ गोल गरेको छ भने १ गोल मात्र बेहोरेको थियो । सो एक गोल पनि भुटानसँगको खेलमा रुसकै खेलाडीबाट आत्मघाती गोल भएको थियो । घरेलु टोली बंगलादेश ७ अंक जोडेर तेस्रो भयो भने साविक विजेता नेपाल भने ४ अंक जोड्दै चौथो स्थानमा रह्यो । सबै खेल हारेको भुटान भने अंकविहिन रहेको छ ।
