
पूर्णपुष्टि, माघ २४ गते । साफ यू २० महिला च्याम्पियनसिप लिगको अन्तिम चरणको खेलमा आज भारतमाथि नेपालले सानदार जित निकालेको छ । उपाधि दाबेदार मानिएको भारतमाथि नेपालले १–३ गोलको अन्तरमा जित निकालेको हो ।
जारी च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को हार व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । आज भारतमाथि जित निकालेसँगै नेपालले फाईनलमा स्थान पक्का गरिसकेको छ ।
बंगलादेशको ढाकास्थित मोस्तफा कमल स्टेडियममा भएको खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ५२ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यस्तै ६९ औं मिनेटमा भारतीय डिफेन्डरले पेनाल्टी एरियामा फल गर्दा नेपालले पेनाल्टी पाएको थियो भने पेनाल्टीमा कप्तान प्रीति राईले गोल गर्दै नेपाललाई आग्रता दिलाईन् ।
दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको नेपालका लागि अमिशा कार्कीले ८९ औं मिनेटमा तेस्रो गोल गर्दै जित पक्का गरिन् । भारतको यात्रा भने भुटान र बंगलादेशबिचको खेलको नतिजामा निर्भार रहने छ। भुटानले खेल जिते भारत र पराजय ब्यहोरे बंगलादेश फाइनलमा प्रवेश गर्नेछन्।
