Sunday, June 14News That Matters

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

पूर्णपुष्टि, चैत ८ । बंगलादेशमा भईरहेको साफ यु–१७ महिला च्याम्पियन सिपमा आज दुई खेल हुने भएको छ । आज हुने दुई खेलमा नेपाल भर्सेस भुटान र युरोपियन राष्ट्र रुस भर्सेस बंगलादेशबीच प्रतिष्पर्धा हुन लागेको हो ।

नेपालले भुटानसँग ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा खेल्ने छ । नेपाली समयअनुसार नेपाल र भुटानको खेल बेलुका ७ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा भारतसँग हारेको नेपाललाई उपाधिको सम्भावना कायम राख्न आज भुटानमाथि जित निकाल्नै पर्ने दबाव रहेको छ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८–१ ले पराजित भएको थियो ।

यस्तै आजको अर्को खेल रुसले घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ । यसअघि गत नोभेम्बरमा यू–१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । यस पटक त्यसलाई परिमार्जन गर्दै यू–१७ फर्म्याटमा आयोजना गरिएको हो ।