Friday, May 22News That Matters

द्धन्द्धकालका ‘अयोग्य’ लडाकुलाई राहत दिन तयारी थाल्यो गृहमन्त्रालयले

पूर्णपुष्टि, चैत ८ । द्धन्द्धकालका अयोग्य लडाकुलाई राहत दिन गृहमन्त्रालयले तयारी थालेको छ । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिन तयारी थालेको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कार्यविधि बनाउने प्रक्रिया बुधबारदेखि सुरु हुने र त्यसका आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य सुरु गरिने बताएका छन् । सचिव सिंहका अनुसार सकेसम्म चालू आर्थिक वर्षदेखि नै राहत वितरण गरिनेछ र वितरणको काम चरणबद्धरुपमा गरिने छ । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने उनले बताए ।

मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएर राहत दिने निर्णय गरेको थियो ।२०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) नेपाल आएको थियो । (अनमिन) ले १९ हजार ६०२ जना माओवादी लडाकूहरुलाई प्रमाणीकरण गरेको थियो । ४ हजार ९ जनालाई ‘मापदण्डमा नपरेको’ भनी अलग गरेको थियो । अयोग्य ठहर्याइएका तिनै लडाकुहरुलाई अहिले सरकारले राहत दिने निर्णय गरेको हो ।