
पूर्णपुष्टि, भदौ ९ गते ।
सासु कुटपिट गरेको अभियोगमा अछामबाट दुई जना बुहारी पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गरेका दुई जना बुहारी पक्राउ परेका हुन् । न्यौपानेमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ ।
स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् । उनका श्रीमान् चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिए पनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
