
पूर्णपुष्टि, कात्तिक २४
सिन्धुलीको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ ।
विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो ।
कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने नगरले जनाएको छ । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने भएको छ ।
यसअवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको जनाईएको छ ।
नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने छ । नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु बोलाई र्याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगरले जनाएको छ ।
यसपटक विजयोत्सवमा नगर प्रमुखले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरले जनाएको छ ।
विसं २०६७ मा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन शुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासङ्घले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन सुरु गरेकोे थियो ।
त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । पालिकाको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ ।
