
पूर्णपुष्टि/सिरहा, साउन १४ ।
दुई समुदायबीच सिरहामा आज तनाव हुँदा गोली चलेको छ । गोली चल्दा दुई जना युवक गम्भिर घाइते भएका छन् । गोलबजारमा बिहीबार बिहानैदेखि भएको तनावका क्रममा दुई जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।
गोली लागी गम्भिर घाइतेहुनेहरुमा सिरहाको तुलसीपुरका २० वर्षीय गणेश यादव र धनुषाको धारापानीका १९ वर्षीय सुभाष ठाकुर रहेको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुको शरीरमा गोली लागेको जनाइएको छ । जसमध्ये गणेशको मृत्यु भएको भन्दै प्रदर्शनकारीहरूले शव राजमार्गमा राखेर प्रदर्शन गरिरहेको भएपनि चिकित्सकले उनको मृत्यु घोषणा गरिनसकेको प्रहरीले जनाएको छ । त्यसैगरी गम्भिर अवस्थाका सुभाषलाई गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको प्रहरीले जनाएको छ । गोली कसले चलायो भन्ने कुरा खुल्न नसकेको सिरहका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी रमेशबहादुर पालले बताएका छन् ।
