
पूर्णपुष्टि, असोज ९ गते ।
नेपाल निजामती कर्मचारी संगठन महिला विभाग उदयपुरले सामाजिक कार्यमा सहयोग गरेको छ । संगठनले ११ दिनको सुत्केरी अवश्थामा श्रीमान गुमाएकी रौतामाई गाउँपालिका ४ की भेषकुमारी राउतलाई आर्थिक सहयोग गर्दै सामाजिक अभियानमा जोडिएको हो ।
श्रीमानको मृत्युले छोराछोरीको पालनपोषणमा समस्या शिर्षकमा विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएसँगै महिला विभागले नगद १६ हजार पाँच सहयोग गरेको हो । संगठनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख बबिता परियारले संगठन आवद्ध साथीहरुबाट संकलन गरी राउतलाई सहयोग गरिएको हो ।
उनले भनिन्, ‘कमाउने श्रीमानको मृत्युपछि तीन छोरा, एक छोरी र श्रीमतीको पालनपोषणमा नाजुकको रहेको खवर सुनेपछि सहयोग गरेका हौ ।’ उनले तिजविशेष कार्यक्रममा भेषकुमारीको अवश्थालाई मध्यनजर गरी तत्काल सहयोग उपलब्ध गराएका बताईन् ।
‘सुत्केरी श्रीमतीको स्याहारसुसार गर्ने समयमा श्रीमानको मृत्यु आफैमा पीडादायिक छ, ‘उपाध्यक्ष परियारले भनिन्, ‘त्यो कहाली लाग्दो अवश्थामा हाम्रो संगठनबाट थोरै भएपनि मलमपट्टी लगाउने प्रयास गरेका हौ ।’
यसअघि राउतलाई रौतामाई गाउँपालिका ७ स्थायी घर भई जापान बस्दै आएका मेघराज थापाले नगद ३० हजार, काठमाण्डौँ निवासी राजिव भट्टराईले २५ हजार गरेका थिए । त्यसैगरी वल्र्डभिजन र हुरेण्डको सहयोगमा पोषणयुक्त खाद्यसामग्री र त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले चामल, नुन, तेल, दाल, मसला, बिस्कुट लगायतका प्याकेजका सामग्री सहयोग गरेको भेषकुमारीले बताईन् ।
