Monday, April 20News That Matters

सेवाग्राहीको खाताबाट पैसा ट्रान्सफर गर्ने उदयपुरका एक युवक सहित ७ गिरोह पक्राउ

पूर्णपुष्टि, १६ असार ।
सेवाग्राहीको बैंक खाताबाट अन्य खातामा रकम ट्रान्सफ गर्ने गिरोहको आरोपमा उदयपुरका एक युवा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका २ भुट्टारका केवल रास्कोटी सहित अन्य व्यक्तिहरुलाई रौताहत प्रहरीले शनिवार सार्वजानिक गरेको हो ।

स्थानीय वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगन्ज नगवाका वर्ष २१ को राज नारायण चौरासिया, वीरगन्ज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाउँपालिका ५ सिमवारिका वर्ष २९ को सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ९ पिङगोलाका वर्ष १९ को महेश थापा, उदयपुर रौतामाई गाउँपालिका २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिराहा मिर्चैया नगरपालिका ८ भगवानपुरका वर्ष १९ को दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वाका वर्ष २३ को श्रवण दास रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट विभिन्न वैंकको १५ थान एटिएम कार्ड,६६ हजार रुपैयाँ,१ थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूले माछापुच्छ्रे बैङ्क चन्द्रनिगाहपुर शाखामा सेवाग्राही रामेश्वर यादवको खाता नं। ०७५००६५३८२८०००१४ बाट गत जेठ ५ गते ३ लाख, ६ गते ३ लाख, र ७ गते ३ लाखको दरले जम्मा ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा ट्रान्सफर गरेका थिए।

त्यसको दुई दिन पछि स्वाग्रही यादव स्वयं चेक मार्फत पैसा झिक्न बैंकमा जाँदा खातामा रकम नदेखेपछि ठुलो विवाद हुँदा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान सुरु गरेको थियो। अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरूले अनधिकृत रूपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैह्रकानूननी तवरले निकाली आर्थिक लाभ समेत लिई ठगी कार्यमा संलग्न रहेको डिएसपी एक नारायण कोइरालाले बताएका छन्।

उनीहरुले विभिन्न व्यक्तिहरूलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाइन बैकिङको युजर नेम र पासवर्ड समेत लिएका थिए। सोही आधारमा खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने हालसम्म अनुसन्धानबाट खुल्न आएका ११ जना मध्ये ७ जनालाई पक्राउ गरी ठगी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी कोइरालाले जानकारी दिएका छन्।

यस्तो घटनामा संलग्न लाई पक्राउ गर्न निकै कठिन भए पनि विभिन्न कोण बाट अनुसन्धान गर्दै जाँदा उक्त गिरोहलाई नियन्त्रणमा लिन सम्भव भएको डिएसपी कोइरालाले स्पष्ट पारे।