
पूर्णपुष्टि, १३ फागुन ।
नेपालमा, दुःख दिने÷झन्जटिलो कार्यालयको रुपमा चिनिने केही सरकारी कार्यालयहरु मध्ये यातायात कार्यलाय पनि एक हो तर, उदयपुरस्थित यातायात ब्यवस्था सेवा कार्यालय गाईघाटले भने केही सकारात्मक प्रयास गरेको पाइएको छ । खराव आचरण र बोलीका कारण सर्बसाधारणको नकारात्मक दृष्टिमा पर्ने यातायात कार्यालयहरु सबै उस्तै हुदैनन् भन्ने सन्देश यहाँ पाइन्छ । यातायात सेवा कार्यालय गाईघाटको कुरा गर्दैछौं । यहाँको सेवाग्राहीमैत्री ब्यवहार चर्चा लायक छ । कर्यालयलाई व्यवस्थित र सेवाग्राहीलाई सहज गर्न यहाँ थुप्रै उदाहरणिय काम भएको छ । पार्किङ घेरा र एरियाले सवारी साधन र मानिस आवतजावत ब्यवस्थित देख्न सकिन्छ ।
गेट प्रवेशसंगैको नागरिकवडापत्र र डिजिटल सुचनाबोर्डबाट कुन काम, कुन कर्मचारी र फाँटबाट हुन्छ सोको जानकारी मिल्छ ।
सेवाग्राहीलाई विश्राम गर्ने ठाउँ, प्यास मेटाउन पानी, थकान मेटाउन निःशुल्क चियाँको ब्यवस्था छ यहाँ । पानी तातो र चिसो दुबै छ ।
यो, कार्यकक्ष भित्र सोफामा बसेर चियाको चुस्कीसंगै आरामका साथ सेवा लिन पाइरहेका छन् सेवाग्राहीहरु । सेवाग्राहीको काम छिटो÷छरितो गर्नु प्राथमिकतामा पर्छ यहाँ । सेवाग्राहीको काम भयो÷भएन चासो हुनेगर्छ यहाँ । भिडभाँड र तनावको अवस्थामा पनि धैर्यता र शिष्टता नटुटोस् भन्नेमा सचेतता अपनाइन्छ ।
कार्यालय प्रमुख श्यामबहादुर लिम्बु सेवाग्राहीसंग कुराकानीमा समय छुट्टाउँछन् । यसैगरी बेलाबेलामा सेवाग्राहीसंग बसेर सेवा बारे सोधीखोजी गर्ने, परामर्श दिने, सहयोग गर्ने र उनीहरुको गुनासा, समस्या हल गर्ने बानीले सेवाग्राहीको मन जितेको छ ।
यहाँ फ्रि इन्टरनेट, मोवाइल चार्जर र भिडभाड ब्यवस्थित गर्न टोकनको ब्यवस्था छ । कार्यालयको वेवसाईट, सामाजिक सञ्जालहरु नियमित अपडेट छन् । कार्यालयको सबै फाँट सक्रिय र कर्मचारी क्रियाशिल देखिन्छन् । नियमित कामहरु चलिरहेका छन् । त्यसमा हाल दैनिकरुपमा सवारी चालक अनुमती पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा सञ्चालन गर्दै आएको छ । जसको कारण परिक्षार्थीले धेरै दिन पर्खन र झन्जट ब्यहोर्नु पर्ने अवस्था हटेको छ । सडकमा यसरी बेलाबेला अनुगमन अनुगमन हुन्छ । सडक दुर्घटना न्यूनिकरण गर्न तथा यातायात क्षेत्रलाई ब्यवस्थित, अनुशासित, मर्यादित तुल्याउन कार्यालयले यातायात अनुगमन गर्दै आएको छ ।
गत २०७२ असार १ गतेबाट यातायात ब्यवस्था कार्यालय लहानको सेवा कार्यालयको रुपमा स्थापना भएको सो कार्यालय ०७५ मंसीरदेखि प्रादेशिक कार्यालय भएको हो । ११ जना कर्मचारी र सिमित स्रोत साधनमा सञ्चालन रहेको कार्यालयले हालसम्म ११ हजार ४९४ वटा सवारी दर्ता, २० हजार ६७३ वटा नयाँ सवारी चालक अनुमती पत्र र १३ हजार ८८९ वटा नविकरण जारी गरेको रेकर्ड छ । त्यस्तै १ हजार ४२४ रुट इजाजत पत्र प्रदान गरेको कार्यालयले गतवर्ष १३ करोड राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा साढे ५ करोड संकलन गरेको रेकर्ड छ । कार्यालय प्रमुख श्यामबहादुर लिम्बु र कर्मचारी टिमको सेवाग्राहीमैत्री काम र व्यवहारलाई मान्नै पर्छ । कार्यालयको यस्तो सेवा सेवाग्राहीका लागि सधै भइरहोस् । त्यति मात्र हैन, अझ यो भन्दा राम्रो सेवा अन्य सरकारी कार्यालयहरुमासमेत देख्न पाइयोस् ।
