
पूर्णपुष्टि, माघ १७
कोरोना भाईरसका कारण बन्द अवस्थामा रहेको त्रियुगा नगरपालिकाका विद्यालयहरु आज (सोमवार) बाट खुल्ने भएको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गर्ने निर्णय भएको थियो ।

त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज सोमबार सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ ।

हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए ।

नगरमा कोरोना न्युन र विद्यार्थीहरुलाई खोपको व्यवस्था सँगै विद्यालयहरु संञ्चालनमा ल्याईने राउतले जनाए । त्रियुगा नगरपालिका अन्तर्गतका १२ हजार विद्यार्थीलाई कोरोना विरुद्धको दोस्रो डोज लगाउँदै छ ।

