Sunday, June 28News That Matters

सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु

पूर्णपुष्टि, जेठ २२ गते । 

नुवाकोटमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ग्रिड सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारदेखि १.२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो ।

आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत  सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणले जनाएको छ । बाँकी काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको जनाईएको छ ।

लकडाउनले वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी भइरहेको निर्माण कार्य प्रभावित हुँदा केही ढिलो भएको छ । सरकारले दीर्घकालीन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजारा मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रण अनुपात लागू गरेको छ ।

प्रणालीमा जलाशययुक्त तथा पम्प स्टोरेज ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभर २५–३० प्रतिशत र अन्य वैकल्पिक श्रोतः ५–१० प्रतिशत बमोजिमको अनुपात कायम रहने व्यवस्था गरिएको छ ।

विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको छ । अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँमा राखिएको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको हो ।

एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६–३३ केभीको  नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गर्नु भएको थियो । त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो ।

विश्व बैंकको  ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत  प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मत सम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ ।

कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मत सम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नुपर्ने छ ।