
पूर्णपुष्टि, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको खुलासा भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाँदै थियो। प्राधिकरणले जनाएअनुसार ९एन–एएमई दर्ता नम्बरको यस जहाजमा १९ जना सवार थिए, जसमा मुख्यतः सौर्य एयरलाइन्सका इन्जिनियर तथा प्राविधिकहरु रहेका थिए। यो जहाजलाई पोखरास्थित ह्यांगरमा एक महिनासम्म राखेर मर्मत गर्ने योजना रहेको बताइएको छ।
यस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ, जबकि विमानका चालक एम आर शाक्यलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। उद्धार कार्य जारी रहेको र अनुसन्धान शुरू गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायहरूले यस घटनाको विस्तृत अनुसन्धान गर्ने र आवश्यक कदमहरू चाल्ने आश्वासन दिएका छन्।
