
पूर्णपुष्टि, साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूका शव परिवारजनले बुझ्न थालेका छन्।
बुधबार पोखराका लागि उडेको विमान विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। शुरुमा बिमा र क्षतिपूर्ति रकम निर्धारण नभएसम्म शव नबुझ्ने अडान राखेका परिवारजन सौर्य एयरलाइन्सले उचित क्षतिपूर्ति र सहयोगको आश्वासन दिएपछि शव बुझ्न सहमत भएका हुन्।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका छन्। तर विदेशी नागरिकको शव बुझाउन प्रक्रियागत कारणले केही दिन लाग्ने बताइएको छ। केही परिवारजन विदेशबाट आउनुपर्ने भएकोले पनि शव बुझाउन ढिलाइ भएको अस्पताल प्रशासनले जनाएको छ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि कम्पनीका उच्च अधिकारीहरू आफूहरूलाई सान्त्वना दिन नआएको भन्दै आफन्तजनले रोष व्यक्त गरेका थिए।
