
पूर्णपुष्टि, भदौ १
नेपाल प्रहरीले हत्यामा संलग्न रही फरार रहेका एक जना व्यक्तिलाई १६ बर्षपछि पक्राउ गरेको छ । दोलखा बैतेश्वर गाउँपालिका–२, टारका ३६ वर्षीय रामकुमार मगरलाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी टेक प्रसाद राईले जानकारी दिनुभयो । मगरलाई प्रहरीले कतारबाट पक्राउ गरेको हो ।

उनी हत्यामा संलग्न रही लुकुछिपि कतारमा बसिरहेको अवस्थामा कतार प्रहरीले नेपाल प्रहरीलाई खबर गरेका थिए । मगर वैदेशिक रोजगारीका क्रममा कतारमा गएर लुकेर बसेको खुलेपछि इन्टरपोलमा रेड नोटिस जारी गरिएका थियो । त्यसको आधारमा उनलाई कतारले डिपोर्ट गरेको थियो । मगरले २ साउन २०६३ मा कोटेश्वरमा कुटपिट र धारिलो हतियार प्रहार गरी हत्या पश्चात फरार रहेको र अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहकार्य गरेर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
