Thursday, May 21News That Matters

हाइकिङ स्पटहरूमा लुटपाट गर्ने गिरोहका मुख्य नाइके पक्राउ

पूर्णपुष्टि, साउन १४ । काठमाडौँ उपत्यकाका हाइकिङ स्पटहरूमा शृङ्खलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको गढी गाउँपालिका–१ फुलबारी निवासी धनबहादुर स्याङतान उर्फ (माइला) लाई शनिबार नागार्जुनको बिन्ध्यवासिनी जङ्गलमा लुटपाट गरेर भाग्दै गरेको अवस्थामा स्युचाटारबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार स्याङतानको समूहले २०८० चैत २९ यता शिवपुरी, चम्पादेवी र नागार्जुन क्षेत्रमा हाइकिङ गर्नेहरूलाई पटक–पटक लुटपाट गरेको थियो। प्रहरीले उनको साथबाट ७ तोला ६४ लाल सुनका गहना, ४ तोलाको चाँदीको ब्रासलेट, १३ हजार नगद र लुटपाटमा प्रयोग गरिएका दुई थान खुकुरी बरामद गरेको छ।

स्याङतानको समूहले बुढानीलकण्ठ, चम्पादेवी र चाखेल क्षेत्रमा पनि लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ। एक घटनामा किशोरीमाथि बलात्कार प्रयास गरेको आरोप पनि छ। स्याङतान यसअघि पनि ललितपुरको खोकनास्थित बालगृहमा लुटपाट र बलात्कारको आरोपमा ११ वर्ष ६ महिना जेल बसेर छुटेका थिए। जेलबाट छुटेपछि उनले पुनः लुटपाटको धन्दा सुरु गरेको प्रहरीको निष्कर्ष छ। प्रहरीले अन्य संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ।