Tuesday, April 21News That Matters

हात्तिसार सामुदायिक वन समितिका पदाधिकारीकै मिलोमतोमा खयर तस्करी

पूर्णपुष्टि, असार २६ । उदयपुरको बेलका नगरपालिका–७ स्थित हात्तिसार सामुदायिक वन उपभोक्ता समितिको पदाधिकारीहरुकै मिलोमतोमा खयर तस्करी भएको खुलासा भएको छ । गत असार १४ गते सब डिभिजन वन कार्यालय मैनामैनीका कर्मचारीहरुको समुहले घाटगद्धी अनुगमन गर्ने क्रममा अनाधिकृत रुपमा काटिएका ६६६ थान खयरको काठ फेला पारेको हो ।

सव डिभिजन वन कार्यालय उदयपुरले आन्तरिक खपतका लागी भन्दै २ हजार १६९ थान (१२१२.१८) क्युफिट खयरको काठ कटानको स्विकृती दिएकोमा समितिले स्विकृती भन्दा ६६६ थान बढी ४४०.८२ क्युफित खयरको काठ कटान गरेको हो । वन कार्यालयले उपभोक्ता समितिलाई खयर सहित सालको ९९ थान (९६६.४४) क्युफिट) र अन्य जातका ४० थान (३९०.४३) क्युफिट काठ कटानको अनुमति दिएको थियो ।

समितिले अनुमति भन्दा बढी खयर कटान गरेको प्रतिवेदन डिभिजन वन कार्यालय गाईघाटमा पेश गरिएको छ । स्विकृती दिएको भन्दा ६६६ थान खयरको काठ बढी कटान गरिएको साथै त्यसको यथार्थ समितिले लुकाएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।

डिभिजन वन कार्यालय उदयपुरका डिभिजनल वन अधिकृत रामभगत यादवका अनुसार यस घटना सम्बन्धमा वन अधिकृत राजेन्द्रप्रसाद यादवको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानपछि यस घटनामा सम्बन्धित ब्यक्तिबिरुद्ध मुद्धा दायर गरिने उनले बताए ।