
पूर्णपुष्टि,मंसिर २९
सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको मृत्यु भएको हो ।
हिजो राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक्ष फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताए ।
घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा गई अनुसन्धान शुरु गरिएको छ ।
दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायतका जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ ।
स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् ।
