Sunday, April 19News That Matters

हावाहुरीले उदयपुरमा ठूलाेमात्रामा मानवीय तथा भौतिक क्षती

४ चैत्र, २०८२ । उदयपुर
गत २ गतेरातीको बर्षातसहितको हावाहुरीले रुख ढालेर उदयपुरमा ठुलो धनजनको क्षती पुर्याएको छ । घटनामा दुईजनाको मृत्यु भएको छ भने दुई गम्भिरसहित छ जना घाइते भएका छन् । दर्जनौ घर, विद्यालय र सार्बजनिक संरचनाहरुको छानो उडाउनुका साथै भत्काएर क्षती पुर्याएको छ ।
मृत्यु हुनेहरुमा कटारी–५ तिनकुनेचौकका ६४ बर्षिय बिरेन्द्र चौधरी र कटारी– ८ थलियाटारकी ४९ वर्षिया मिनामाया तामाङ रहेका छन् । सुकेको सखुवाको रुखले पसलसहितको घर किचेर चत्काउदा चौधरीको मृत्यु भएको थियो भने तामाङ हुण्डरीका बेला खसीबाख्रा थन्न निस्केको बेला नजिकैको रुप ढलेर लाग्दा मृत्यु भएको हो ।
कटारी नपा–५ का ४६ वर्षिय लिलाबहादुर दनुवार र कटारी नपा–८ की २० वर्षिया कमलकुमारी मगर गम्भिर घाइते भएका छन् । उनीहरुलाई प्रादेशिक अस्पताल कटारीबाट थप उपचारका लागि रेफर गरी विराटनगर लगिएको छ । दनुवार मृतक चौधरीको घरमा आएको बेला घाइते भएका हुन् भने मगर आफ्नै घरमा सुकाएको लुगा उठाउँने क्रममा रुखले लागेर घाइते भएकी हुन् ।
मृतक चौधरीकी पाँच वर्षिया नातीनी बिनिसा चौधरी, कटारी नपा–३ आहालडाँडाका २७ वर्षिय युवराज कार्की, वडा नंं ५ का ४६ वर्षिय प्रेमचन्द्र दनुवार र वडा नं. १२ का १६ वर्षिया अस्मिता परिवार उपचार पछि घर फर्केका छन् । उनीहरु सबै पसलसहितको चौधरीको घर रुखले किच्दा घाइते भएका हुन् । घरभित्रै च्यापिएकी पाँचवर्षिया बालिका बिनिसालाई करिब एकघण्टामा घाइते अवस्थामा उद्धार गरिएको थियो ।
त्यसैगरी जिल्लामा २१ लख ४० हजार बराबरको भौतिक क्षतीको प्रारम्भिक विवरण संकलन भएको छ । बाँकी क्षतीको विवरण संकलनको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाको कटारी, उदयपुरगढी, रौतामाई, ताप्ली, लिम्चुङबुङ, चौदण्डीगढी लगायतका पालिकाहरुमा लाखौंको भौतिक क्षती भएको छ । सबैभन्दा बढि घरको छानो उडाएर खाद्यान्न, लत्ताकपडा भिजेर नष्ट भएका छन् । विद्यालय, सामुदायिक भवन लगायतको छानो उडाउनुका साथै भत्काएर क्षती पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको प्रारम्भिक क्षती विवरण अनुसार कटारी नपा –१२ मा चतुरमान विक, खड्गबहादुर कार्की, फर्सबहादुर खत्री, शम्भु कटुवाल, जमुनादेवी खत्री, तलक विक, राज तामाङ र चक्रबहादुर तामाङको घरको छानो उडाउदा ३ लाख ५० हजारको क्षती भएको छ ।
कटारी नपा– १० मा प्रेमबहादुर श्रेष्ठ, गजेन्द्रबहादुर श्रेष्ठ, पर्खमान राई, विरबहादुर तामाङ र एक सामुदायिक मिल भवनको छानो उडाउनुका साथै अन्नपात, लत्तापपडा क्षती हुँदा सात लाख १० हजार क्षती भएको छ ।
कटारी नपा –७ मा मेखबहादुर दनुवार, छविलाल परियारको घरको छानो उठाउँदा एकलाख ७० हजारको क्षती भएको छ ।
त्यसैगरी उदयपुरगढी गापा–१ मा केदारबहादुर मगर, धनकुमारी मगर, खिलबहादुर मगर, गौरबहादुर तामाङको घरको छानो उडाउनुका साथै घरमा क्षती पुर्याउदा आठ लाख बराबरको क्षती भएको छ ।
त्यस्तै चौदण्डीगढी नपा–८ मा तिर्थबहादुर मगर, जीवन राईको घरको छानो क्षती गर्दा एक लाख १० हजार बराबरको क्षती पुगेको छ ।
यसका साथै लिम्चुुङबुङ, ताप्ली, रौतामाई लगायतका पालिकाहरुको घर तथा विद्यालय भवनको छानो उठडाएर क्षती पुर्याएकोमा क्षती विवरण संकलन बाँकी रहेको जनाइएको छ । जिल्लाको सबै ठाउँको क्षती विवरण संकलन कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निराजन थापाले बताए ।
गएराती एक्कासी वर्षातसंगै अस्वभाविक ढंगले हुरीबतास चलेको र बन्दिलो छानोहरुसमेत उडाएको पिडितहरुले बताएका छन् । अन्य समयभन्दा तेज र शक्तिशाली हुण्डरी चलेको स्थानीयको भनाई छ ।
बर्षातसमेत भएकाले पिडित परिवारलाई ओतलाग्न समस्या परेको थियो । खाद्यान्न र लुगाफाटा भिजेकाले ती कुराको समस्यासमेत परेको थियो । हालभने छिमेकी र स्थानीय तहहरुको सहयोगमा उनीहरुलाई खानबस्न ब्यवस्था मिलाइएको जनाइएको छ ।