
पूर्णपुष्टि, कात्तिक १७
कोरोना महामारीको बीचमा खुलेको पर्वतारोहण सिजनमा आइतबारसम्म ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ ।
यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेको पर्यटन विभागले जनाएको छ । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली रहेको छ ।
यो टोलीले मनास्लु आठ हजार एक सय ६३ मिटरको हिमाल चढेर स्वदेश फर्किसकेको छ । ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरेको छ ।
यसअवधिमा कतारका राजकुमारसहितको अर्को टोली अमादब्लम छ हजार आठ सय १४ मिटरको हिमाल चढ्न आएको छ । यो टोलीमा ६ जना आरोही सदस्य छन् ।
यसबाहेक ग्लाल्जेन पीक छ हजार एक सय ५१ मिटरको र हिमलुङ हिमाल सात हजार एक सय २६ मिटरको आरोहण गर्न दुई समूहले अनुमति लिएको विभागले जनाएको छ ।
यसमा क्रमशः ३ र ५ जना सदस्य रहेका छन् । तीन जना सदस्य नेपाली हुन् । ५ जनाको टोली भने विदेशी रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
शरद ऋतुमा हिमाल आरोहणको शुल्क वसन्त ऋतुको तुलनामा ५० प्रतिशत कम छ । विभागका अनुसार अहिलेसम्म जारी ५ वटा आरोहण अनुमतिबाट कुल २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी उठेको छ ।
