
पूर्णपुष्टि/काठमाडौं, असार १५ ।
होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम बकेलाई अध्यक्षमा मनोनयन गरेका हुन् ।
बके भक्तपुरस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशक एवम् सफलं पर्यटन व्यवसायी हुन ।
होटल तथा पर्यटकीय व्यवसायमा पुऱ्याएको योगदान तथा नेतृत्व क्षमतालाई मध्ये नजर गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको जनाईएको छ ।
संघले बागमती प्रदेशअन्तर्गतका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी तथा सुदृढ प्रदेश समिति गठन गर्ने जिम्मेवारी उनलाई दिएको छ । साथै, संघको विधान तथा कार्यविधिअनुसार प्रदेश समितिको गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।
होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको संगठनात्मक सुदृढीकरणमा नवनियुक्त अध्यक्ष बकेले प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास संघको छ ।
संघले अध्यक्ष बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बागमती प्रदेशमा होटल व्यवसायीहरूबीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणमा उहाँको नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरेको छ।
