
पूर्णपुष्टि, जेठ १ गते ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु¥याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।
गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो सामग्री शिक्षक र अभिभावकले सजिलै प्रयोग गर्न सक्ने जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तक पनि समावेश गरिएको छ ।
नेपाली भाषालगायत १० स्थानीय भाषामा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रम पनि समावेश गरिएको छ ।
