
२७ भदौ २०८३
रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका देवेन्द्र घिमिरेको १७ दिनसम्म पनि पार्थिव शरीर फेला नपरेपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।
त्रियुगा–४ स्थित अर्ना खोला र त्रियुगा नदीको दोभानमा कुशलाई मानिसको स्वरूपमा ढालेर तयार पारिएको प्रतीकात्मक शवलाई मृतक देवेन्द्रकै शरीर मानेर हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो। मृतकका छोरा उज्ज्वल घिमिरेले दागबत्ती दिएर अन्त्येष्टि गरेका छन्। उनले कपाल मुण्डन गरी १३ दिने किरियापुत्री बसेका छन्।
देवेन्द्र त्रिशूली हाइड्रो प्रोजेक्टमा कार्यरत थिए। बाढी आउनुभन्दा करिब आधा घण्टाअघि मात्र परिवारसँग फोनमा कुराकानी गरेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए। घटनास्थलसम्म पुगेर खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि धार्मिक संस्कार पूरा गर्न अन्त्येष्टि गरिएको बुवा उद्धव घिमिरेले बताए।
अन्तिम संस्कारका क्रममा आमा गौरदेवी, बुवा उद्धव र श्रीमती अप्सराले कुशको प्रतीकात्मक शवलाई आफ्नै परिवारको सदस्य मानेर अन्तिम विदाइ गरेका थिए। दृश्य अत्यन्त कारुणिक बनेको थियो। अन्त्येष्टि गरिए पनि बुवा उद्धवले छोरा जीवितै फर्किने आशा भने अझै नछाडेको बताएका छन्।
यसैबीच, रसुवाको बाढीमा उदयपुरका अझै १६ जना बेपत्ता छन्। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीका अनुसार प्रशासनमा २१ जना बेपत्ता भएको जानकारी आएकोमा पाँच जना जीवितै सम्पर्कमा आएका छन्। बाँकी १६ जनाको खोजी सुरक्षा निकायले निरन्तर गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंले बताए।
१७ दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरू फेला नपरेपछि परिवारमा आफन्त भेटिने आशा कमजोर बन्दै गएको छ।
