
मोरङको ग्रामथान गाउँपालिका-४ मा प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान र आगामी चाडपर्वलाई सुरक्षित बनाउने उद्देश्यले गरिएको यस कारबाहीमा १८ लाख ४९ हजार ५ सय रुपैयाँ नगद पनि बरामद गरिएको छ।
भदौ २९ गते राति ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो। ग्रामथान-४ कटहरा टोलस्थित महिला समूहको सामुदायिक भवनमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा मोरङका अहिलाल माझी (५५) र शिवनारायण माझी (५९), सुन्दरहरैंचाका जय किशोर साह (४५), जनक कुमार मास्के (५०) र प्रताप भन्ने इच्छा राई (३०), लेटाङका लोकनाथ सापकोटा (३८), झापाका ऋतुबर्ण नेम्वाङ (४६), सुनसरीका युबक राई (४५) र महोत्तरीका महेश साह (४५) रहेका छन्।
प्रहरीले घटनास्थलबाट १६ थान कौडा, १२ बुक तास, २ बट्टा पाउडर, २ थान कपडाको झोला, १५ थान मोबाइल फोन र नगद बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरिएका आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
