Wednesday, April 22News That Matters

७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको इजिप्टियन फेन्सरको खुलासा

पूर्णपुष्टि, साउन १५ । इजिप्टियन फेन्सर नाडा हाफिजले पेरिस ओलम्पिकमा ७ महिनाको गर्भवती अवस्थामा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन्। २६ वर्षीया हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन्, तर अन्तिम १६ मा पराजित भइन्।

इन्स्टाग्राममा एक पोष्टमार्फत उनले आफ्नो गर्भावस्थाको बारेमा खुलासा गर्दै लेखिन्, ‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए। म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा।’ कायरोकी हाफिजले यो उनको लगातार तेस्रो ओलम्पिक सहभागिता भएको जानकारी दिइन्। उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५–१३ ले हराएकी थिइन्, तर अर्को खेलमा दक्षिण कोरियाकी जिओन ह्योङसँग १५–७ ले पराजित भइन्।

हाफिजले यस पटकको ओलम्पिक अनुभव फरक रहेको बताउँदै भनिन्, ‘३ पटकको ओलम्पियन। तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर केही फरक थियो।’ उनले गर्भावस्थाको चुनौतीहरू र खेलकुदको सन्तुलन कायम राख्न गरेको संघर्षको बारेमा पनि उल्लेख गरिन्।