
पूर्णपुष्टि,फागुन ५ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो ।
सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा जम्मा १५१७ मत खसेको थियो । जसमा बडालले ९६२ मत पाएर प्राप्त गरे संगै अध्यक्ष चुनिए । अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाएका थिए ।
एक नेताका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । यता सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।
अनेरास्ववियूको निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ ।
