Saturday, December 6News That Matters

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम

पूर्णपुष्टि,११ बैशाख ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको केन्द्रीय सचिवमा उदयपुरका बलराम खतिवडा निर्विरोध चयन भएका छन । अन्तर्राष्ट्रिय नेपाली सेफहरूको साझा संस्था International Nepali Chef Society (INCS) को २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको थियो ।

वैशाख ६ गते सम्पन्न अधिवेशनमार्फत गठन गरिएको ३६ सदस्यीय कार्यसमितिमा उदयपुरका बलराम खतिवडा सचिव पदमा निर्वाचित भएका छन् ।

साइप्रसस्थित एक प्रतिष्ठित रेस्टुरेन्टमा Vegan Chef का रूपमा कार्यरत खतिवडा यसअघि INCS को साइप्रस च्याप्टरका उपाध्यक्ष थिए। नेपाली सेफहरूको अन्तर्राष्ट्रिय प्रतिनिधित्व, पेशागत विकास र संस्थागत सशक्तिकरणमा सक्रिय भूमिका निभाउँदै आएका खतिवडा अब केन्द्रीय सचिवका रूपमा थप जिम्मेवारी वहन गर्नेछन्।

यसै अधिवेशनबाट अध्यक्षमा अरुण अधिकारी, वरिष्ठ उपाध्यक्षमा श्याम अमगाईं, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइ कुमार शर्मा र श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री, सह–कोषाध्यक्षमा हरिराम घिमिरे तथा प्रवक्तामा युवराज तामाङ निर्वाचित भएका छन् ।

INCS हाल विश्वका ३८ भन्दा बढी देशहरूमा क्रियाशील संस्था हो, जसले नेपाली सेफहरूको सीप आदानप्रदान, संस्कृति प्रवर्द्धन, रोजगार सञ्जाल विस्तार तथा सामूहिक सहकार्यमा काम गर्दै आएको छ ।

निर्वाचनपछिको प्रतिक्रिया दिँदै खतिवडाले भने, “यो केवल पद होइन, जिम्मेवारी हो—नेपाली स्वाद र सेफ समुदायको सम्मान र पहिचानलाई विश्वभर फैलाउने अवसर हो ।”

बलराम खतिवडाको निर्वाचनले उदयपुर जिल्ला मात्र होइन, सम्पूर्ण नेपाली सेफ समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइ दिने अपेक्षा गरिएको छ।