
पूर्णपुष्टि,वैशाख २६ । आज नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसको रुपमा मनाउँदै छ । नेपालमा विसं २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानून दिवस मनाउन थालिएको हो ।
सोही दिनको सम्झनामा प्रत्येक वर्ष बैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ । सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ। प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदानप्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ। मंगलवार पनि दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ।
