Wednesday, June 17News That Matters

आज दशैँको महाअष्टमी, देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

पूर्णपुष्टि, असोज १७ गते ।
आज दशैँको महाअष्टमी देशभरका शक्तिपीठमा बिहानैदेखि दुर्गा भवानीको पूजाआराधना गर्न घुइँभचो लागेको छ ।
आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालीकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पूजा गर्नेको बिहानदेखि भिड लाग्ने गर्छ ।
यसैगरी काठमाण्डौ उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नालाभगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्दछ । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखेर पूजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्र मानी पूजा गर्ने गरिएको हो ।