
पूर्णपुष्टि, असोज २६ । आज आफुभन्दा अग्रजबाट टिका जमरा लगाएर विजया दशमी पर्व मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकेको छ।
समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार टीका र जमरा देवीको प्रसाद भएकोले जुनसुकै समयमा लगाउन सकिन्छ । उनले बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि दिनभर नै टीका लगाउन सकिने बताए ।
यस पर्वमा घरघरमा आमा बुवा तथा अग्रजबाट टिका थापेर मिठो परिकार, नाचगानमा रमाउने गरिएको छ । घरका साथै आफन्त, नरनाताकोमा समेत टिका थाप्न घुम्ने चलन छ । माइती, मावली, ससुरालीमा विशेष पाहुनाको रुपमा आउजाउ गर्ने नेपाली चलन हो । पाहुना जाँदा कोशेली बोक्ने चलन छ । पहुनालाई घरको विशेष परिकार मासु, सेलरोटी, खाना, फलफुल आदि खुवाउने गरिन्छ । यो पर्व विशेष भेटघाटको पर्वको रुपमा पनि हुन्छ । बर्षौ पछिको भेटघाट हुन्छ यतिबेला । टाढा देश परदेश गएकाहरु पनि घर फर्केका हुन्छन् ।
गाउँमा लिङ्गे पिङ लगाई खेल्ने गरिन्छ । बर्षमा एकपटक भुइ छोड्नुपर्छ भन्ने मान्यतालाई पिङ खेलेर पुरा गरिन्छ । पहिले पहिले रोटेपिङ बन्ने गथ्र्यो । आजभोली कथा मात्र बाँकी छ । लिंगै पिङ पनि संख्यात्मकरुपले कम मात्र बनाइन्छ । दशैंमा शहर भन्दा गाउँघरको रौनक थप बढेको हुन्छ । शहरबाट गाउँगाउँमा मानिस गएका हुन्छन् दशै मनाउन । गाउँघरको दशैं मौलिक र विशेष रमाइलो हुने गर्दछ ।
समग्रमा विगतको दाँजोमा हरेक बर्ष दशैंको रौनकता केही खस्कदै गएको होकी भन्ने आभाष हुन थालेको छ । विगतमा दशैं र तिहारलाई विशेष रुपले मान्ने चलन थियो । आजभोली धेरै किसिमका पर्व विशेषरुपले मनाउन थालिएकोले दशैंको रौनकतामा कमी आभाष भएको हुनसक्ने देखिन्छ । रातो टिका र जमरा लगाइने दशैंमा किराँत समुदायका राई लगायतका केही जातीले सेतो टिका र जमरा लगाउँछन् । दशैंमा सेतो टिकालाई शान्ति र सद्भावको रुपमा ग्रहण गरिएको राई समुदायको मान्यता छ ।
