
पूर्णपुष्टि, जेष्ठ २४ । आज जुन ७ अर्थात विश्व खाद्य स्वच्छचा दिवस । संयुक्त राष्ट्र संघले २०२३ को अन्तर्राष्ट्रिय नारा ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने तय गरेको छ भने नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारासहित दिवस मनाईदैछ । नेपालमा जेठ १८ गतेदेखि २४ गतेसम्म साताव्यापी रुपमा यो दिवस मनाईनेछ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले खाद्य स्वच्छता दिवसमाको अवसरमा शुभकामना दिदैँ किसानहरुलाई असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्नु भएको छ । नागरिकको जीवन रक्षाका लागि खाद्य स्वच्छताको सुनिश्चितता हुनु जरुरी छ ‘उनले भने’ देशका सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरुमा सधैं असल कृषि र पशुपालन अभ्यास अवलम्बन गर्न आह्वान गर्दछु ।
अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उपभोगले आम जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा खाद्य वस्तुको उत्पादन, उपभोग तथा बजारीकरणमा स्वच्छता र गुणस्तर कायम राख्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको प्रधानमन्त्रीले बताए । साथै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार, खाद्य प्रणालीमाथिको सहज एवम् सुलभ पहुँच र स्वास्थ्य रक्षालाई आफूले सधैं उच्च प्राथमिकतामा राखेको उनको भनाई छ । खाद्य प्रशोधन उद्योगमा सधैं असल गुणस्तरयुक्त उत्पादन अभ्यास अवलम्बन गर्दै प्रभावकारी नियमन एवम् स्वीकृत मापदण्डहरुको कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसंघको महमासंभाले हरेक बर्ष जुन ७ मा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् २०१९ देखी हरेक बर्ष विश्व खाद्य स्वच्छता दिवस मनाउन थालिएको हो ।
