
पूर्णपुष्टि, फागुन २६ । निर्वाचन आयोगले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकामा मनोनयन दर्ता शनिबारलाई तोकिएको छ ।
मनोनयनपत्र दर्ता भएको दिन उम्मेदवारको सुची प्रकाशन गर्ने र उम्मेदवार विरुद्ध उजुरी दिन पाईने आयोगको कार्यतालिका रहेको छ । आयोगले फागुन २८ गते मनोनयनपत्र र उजुरीमाथि छानबिन गरी निर्णय गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । त्यसपछि चैत ३ मा निर्वाचन हुनेछ ।
मतदान पश्चात सबै मतपेटिक मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकेको समय र स्थानमा मतगणना कार्य सुरु गरिनेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन घोषणा गरिने आयोगले जनाएको छ।
‘कुनै उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन‚ २०७४ को दफा ५६ को उपदफा (१) वा उपदफा (३) बमोजिम पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली‚ २०७४ को नियम ४० बमोजिम मतदानको मिति तोकी पुनः मतदान गराईने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले राष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दिने भएमा बन्दसूचीबाट नाम फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।
