
पिूर्णपुष्टि, ५ चैत्र ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा मंगलबार तिन घर जलेर नष्ट भएको छ ।
नगरपालिकाको वडा नम्बर ७ कल्याण चोकमा लागेको भीषण आगोले ३ घर पूर्ण रुपमा जल्नुका साथै करडौँको क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भै आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो ।
दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको छ । सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् । चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो ।