
उदयपुर, फागुन २५ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुरको दुबै क्षेत्रबाट विजयी हाँसिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि पहिलोमत ५० हजार ६१४ पाएको छ । उदयपुर–१ बाट ३३ हजार ८१३ र उदयपुर–२ बाट १६ हजार ८०१ म्त आएको हो ।
श्रम संस्कृति पार्टीले दोस्रो समानुपातिक मत १७ हजार २८८ पाएको छ । उदयपुर–१ बट १२ हजार २९६ मत पाएको श्रम संस्कृतीले उदयपुर – २ बाट ४ हजार ९९२ पाएको हो ।
तेस्रोमत १५ हजार ६६५ पाएको नेकपा एमालेले उदयपुर – १ बाट ९ हजार १४१ र उदयपुर–२ बाट ६ हजार ५२४ मत पाएको छ । चौथोमत १४ हजार ६१७ पाएको नेपाली कांग्रेसले उदयपुर–१ बट ८ हजार ७९९ र उदयपुर–२ बाट ५ हजार ८१८ मत पाएको हो भने पाँचौमत १० हजार ७२६ पाएको नेपाली कम्युनिष्ट पार्टीले उदयपुर–१ बाट ६ हजार ३१ र उदयपुर–२ बाट ४ हजार ६९५ पाएको हो ।
समग्रमा हेर्दा यसपटक उदयपुरे मतदाताले प्रत्यक्ष र समानुपातिक दुबैमा नयाँ राजनीतिक शक्तिलाई मत खन्याएको छ । पुराना दलहरुलाई पटक पटक मौका दिँदा पनि देशको विकास र निकास दिन नसकेको भन्दै यसपटक मत बदलेको मतदाताहरुको भनाई छ । नयाँलाई दिइएको अहिलेको मतको पनि सहि सदुपयोग नभए नयाँले पनि पुरानैको हविगत ब्यहोर्नुपर्ने चेतावनी त्रियुगा नगरपालिका ११ का मतदाता भरत चामलिङले बताए ।
पहिलो र दोस्रो मत पाउने दुबै पार्टीलाई मतदाताले प्रत्यक्षभन्दा समानुपातिकमा थप बढि दिएका छन् । रास्वपाले प्रत्यक्षभन्दा ५ हजार २२२ बढि मत समानुपातिकमा पाएको छ भने श्रम संस्कृतीले १ हजार ५४४ मत बढि समानुपातिकमा पाएको छ । पुराना तीन प्रमुख दलहरु एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको भने प्रत्यक्षको दाँजोमा समानुपातिकमा घटेको मत आएको छ ।
उदयपुर–१ को समानुपातिक मत गणना आज विहानै सकिएसंगै उदयपुरको सम्पूर्ण मतगणना कार्य पुरा भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले बताउनुभयो । उदयपुर –२ को समानुपातिक गणना हिजो राती नै सकिएको थियो । दुबै क्षेत्रको प्रत्यक्षतर्फको मतगणना हिजो विहान सकिएर विहान नै विजयी घोषणा तथा प्रमाणपत्र वितरण भएको थियो ।
शान्तिपूर्वक सम्पन्न मनोनयन, मतदान, प्रचार प्रसार र मत गणना जस्ता चुनावका महत्वपूर्ण कार्यहरु पुरा भएसंंगै प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यक्रम उदयपुरमा टुंगो लागेको छ । यस निर्वाचनबाट उदयपुरबाट उदयपुर –१ मा रास्वपाका पारशमणि गेलाल र उदयपुर २ मा रास्वपाकै सुर्य तामाङ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पाएको छ ।
