उदयपुरको बेलकामा प्याराग्लाईडिङ्गको सफलतापछि कटारीमा सञ्चालन, रौतामाईमा पनि परिक्षण गरिने

पूर्णपुष्टि, पुष १२
प्रकृतिकरुपले सुन्दर रहेको उदयपुरमा प्याराग्लाईडिङ्गले एकपछि अर्को सफलता हात परेको छ । जिल्लाको बेलका नगरपालिकामा भएको प्याराग्लाईडिङ्गको सफलता पछि कटारीमा पनि प्याराग्लाईडिङ्ग सञ्चालन गर्न लागिएको हो ।
माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाईडिङको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न लागिएको पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यहाँ चारदिनअघि मात्र प्याराग्लाईडिङ्गको सफल परीक्षण उडान गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मीटरको उचाईबाट २५० मीटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाईडिङ्गको परीक्षण गरिएको हो । सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ ।
परीक्षणका क्रममा प्याराग्लाईडिङ्ग उडानको अनुभव गरेका मेयर श्रेष्ठले कटारीलाई माथिबाट राम्ररी अवलोकन गर्न पाउनुभयोे । कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङ एक शाहसिक काम भएको र उडेर नौलो अनुभुती गर्न पाएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो ।

प्याराग्लाईडिङ्गका पाईलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाईडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भुगोल रहेको सुनुवारको भनाई छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।
कटारीलाई हिमाली भेग र नजिकमा पर्ने जिल्लाहरु सोलखुम्बुुु, ओखलढुङ्गा, खोटाङ लगायतको मुख्य प्रवेशद्वार मानिन्छ । ती जिल्लाका पर्यटकीय गतिविधिसंग कटारीको सडक सम्बन्ध रहेको छ । यसै कारणले पनि पर्यटकहरुको आकर्षण र प्याराग्लाईडिङको ब्यवसायिक सम्भावना त्यहाँ देखिएको मेयर छ ।

प्याराग्लाईडिङसंगै त्याहाँ जीपलाईन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ । गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङ्गका अनुसार प्याराग्लाईडिङ्गसँगै जीपलाईन पनि संञ्चालनका लागि परीक्षण सुरु भएको हो ।
उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्लाईडिङको सफल परिक्षण पछि बेलाबेला सञ्चालनसमेत भइरहेको छ । रौतामाई गाउँपालिकाले पनि प्याराग्लाईडिङ परिक्षण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: